काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन फेरि पराजित भएको छ। सुरुवाती दुई खेलमा पराजित भएको काठमाडौं शुक्रबार भएको खेलमा पोखरा राइनोजसँग ६ विकेटले पराजित भएको हो। पोखराको यो तीन खेलमा दोस्रो जित हो भने काठमाडौंको चार खेलमा तेस्रो हार हो।
काठमाडौंले दिएको ९९ रनको लक्ष्य पोखराले १८.२ ओरभमा ४ विकेट गुमाएर पार गर्यो। पोखराको जितमा इस्राउल्लाह नटआउट ४५ र शक्ति गौचनले नटआउट १८ रन जोडे। इस्राउल्लाहले ४८ बलमा ३ चौका र २ छक्का तथा शक्तिले १८ बलमा ३ चौका हिर्काए।
सुनील धमलाले २० रन जोडे। सागर पुनबाट बोल्ड हुनुअघि उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ काठमाडौंका सागर पुनले २ विकेट लिए भने विक्रम भुसालले १ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले अन्त्यन्तै खराब सुरुवात गरेको थियो। खराब सुरुवातपछि काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ९८ रन मात्र जोड्न सक्यो।
काठमाडौंका लागि सागर पुनले ३६ रन बनाए। उनले ४७ बलमा २ चौका र १ छक्का प्रहार गरे। राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
काठमाडौंका पहिलो बलमा अमित श्रेष्ठ र पाँचौ बलमा कप्तान फरविज महारुफले आउट भएका थिए। पहिलो ओभरमै दुई विकेट गुमाएपछि काठमाडौं दबाबमा परेको थियो। काठमाडौंको इनिङ ध्वस्त पार्न विक्रम शोवले २ विकेट लिए। उनले दुवै विकेट विकेट ओभरमा लिएका थिए। शक्ति गौचन र सुसन भारीले पनि २–२ विकेट लिए।
इपिएलमा पोखरा तीन खेलबाट ४ अंक जोडेको छ। काठमाडौं भने ४ खेलमा २ अंक जोड्दै पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।