काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय परिषद् बैठक गर्ने भएको छ।
आगामी माघको दोस्रो सताभित्र वीरगन्जमा बैठक गर्ने तयारी थालिएको हो।
पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए।
विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ। पार्टीका सबै केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करिब पाँच सय जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्नेछ।
पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन। प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन। समानुपातिकमा आवश्यक न्युनतम मत प्राप्त गरेको भए पनि के कति सिट प्राप्त गर्ने निश्चित भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।