काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। बिहीबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले आफू सो जिम्मेवारी पूरा गर्न तयार रहेको बताए।
युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले आफूलाई दिएको उल्लेख गर्दै दाहालले संविधान निर्माण र कार्यान्वयनसँगै विकास र समृद्धिको नेतृत्व समेत आफूले गर्ने दाबी गरे।
‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्र प्राप्त हुन्छ। मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु,’ दाहालले भने, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो। मेरै नेतृत्वमा शान्ति सम्झौता भयो। युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए।
संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें। अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ, त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’
वामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको उल्लेख गर्दै दाहालले वर्तमान राजनीतिक गतिरोधको अन्त्य समेत जनमत अनुसार हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।