काठमाडौं– भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो जित हात पारेको छ। भैरहवाले बिहीबार भएको खेलमा ललितपुर पाट्रिओट्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। यसअघि बुधबार भएको खेलमा भैरहवाले काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरले दिएको १ सय ४२ रनको लक्ष्य भैरहावले अन्तिम बलमा ६ विकेटल गुमाएर पार गर्यो। भैरहवाको जितमा रोहितकुमार पौडेलले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रनको योगदान गरे। उनले ५ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले नटआउट २७ रन बटुल्दा पुनित बिष्टले ५० रन बनाए। आरिफले २२ बलमा समान १–१ चौका र छक्का प्रहार गरे। बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो। ललितपुरका लागि योगेश नागरले ५४ रन जोडे। ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले ४२ रन बनाए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बलिङतर्फ दीपेन्द्र श्रेष्ठले ३ विकेट लिए। आरिफ शेख र पुनित विष्टले समान २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।