धनगढी- थाइल्यान्डमा सम्पन्न एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजेता बनेको नेपाली टोलीका दुई खेलाडीलाई धनगढीमा सम्मान गरिएको छ।
सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा अन्डर–१६ टोलीका सदस्यहरु नारायण जोशी र सुबोध ऐरलाई सम्मान गरिएको हो।
दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् भने उनीहरु अहिले सुदूरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन्।
सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्वय जोशी र ऐरलाई प्रदेश नम्बर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले सम्मान गरेका थिए।
दुवै खेलाडीलाई नि:शुल्क रुपमा एक वर्षको वैदेशिक प्रशिक्षण दिइने पनि सो अवसरमा घोषणा गरिएको छ।
सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च बेहोर्ने गरी ६ महिना भारत र ६ महिना श्रीलंकामा क्रिकेट प्रशिक्षण दिइने भएको हो।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले युवा खेलाडीको प्रदर्शनलाई अझ निखार्नका लागि नि:शुल्क प्रशिक्षणका लागि विदेश पठाउने निर्णय गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।