उडिसा– श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा घरेलु टिम भारतले विजयी सुरुवात गरेको छ।बुधबार राति भएको खेलमा भारतले श्रीलंकालाई ९३ रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर १ सय ८० रन बनायो। भारतका लागि लोकेश राहुलले ६१ जोड्दा महेन्द्रसिंह धोनीले नटआउट ३९ तथा हार्दिक पाण्ड्याले नटआउट ३२ रन जोडे। धोनीले २२ बलमा ४ चौका र १ छक्का तथा पाण्ड्याले १८ बलमा समान २–२ चौका र छक्का प्रहार गरे।
१ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १६ ओभरमा ८७ रनमा अलआउट भयो। श्रीलंकाको इनिङ ध्वस्त पार्न भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए। हार्दिक पाण्ड्याले ३ विकेट लिँदा कुलदिप यादवले २ विकेट आफ्नो नाममा लेखाए। श्रीलंकाका लागि उपुल थारांगाले सबैभन्दा बढी २३ रन बटुले।
भारतले खेलमा हात पारेको ९३ रनको जित अहिलेसम्मकै ठुलो अन्तरको जित हो। यसअघि भारतले सन् २०१२ मा इंग्ल्यान्डलाई ९० रनले पराजित गरेको थियो।
यस्तै खेलमा ४ विकेट लिएका भारतका चाहल सन् २०१७ मा टी–२० खेलमा बढी विकेट लिने खेलाडी बन्न सफल भए। उनले सन् २०१७ मा १० खेलमा १९ विकेट लिइसकेका छन्। दोस्रो स्थानमा रहेका रसिद खान र केस्रिक विमलयम्सको १७ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।