सुर्खेत– सुर्खेतमा सुविधायुक्त कभर्ड हल निर्माण हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि प्रक्रिया अघि बढाएको हो।
जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा समितिले जिल्ला ब्याडमिन्टन संघलाई उपलब्ध गराएपछि संघले कभर्ड हल निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाउन लागेको छ। कभर्ड हल निर्माणका लागि समितिले करिब चार कठ्ठा जग्गा संघलाई हस्तान्तरण गरिएको छ।
ब्याडमिन्टन संघले कभर्ड हल निर्माणका लागि गत वर्ष महायज्ञ सञ्चालन गरेर एक करोड रुपैयाँभन्दा बढी रकम संकलन समेत गरिसकेको छ। संघका उपाध्यक्ष चेत अधिकारीका अनुसार, महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँ संकलन भएको थियो। जसमध्ये खर्च कटाएर बचत भएको एक करोड ३० लाख रुपैयाँबाट कभर्ड हल निर्माण गरिने उनले जानकारी दिए।
अबको एक वर्षभित्र हल निर्माण गरिसक्ने जनाइएको छ। चार वटा ब्याडमिन्टन कोर्टसहितको हल बनाइने संघका उपाध्यक्ष अधिकारीले बताए। त्यसैगरी हलमा योग तथा प्रणायाम गर्न मिल्नुका साथै अन्य इन्डोर खेल सञ्चालन गर्न समेत सकिने उनको भनाइ छ। सभा तथा सेमिनार आयोजनाका लागि पनि प्रयोग गर्न मिल्ने गरी हल निर्माण गरिने तयारी छ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश गिरीले सुर्खेतमा सुविधासम्पन्न कभर्ड हल निर्माण हुनु प्रदेश ६ कै लागि खुसीको कुरा भएको बताए। उनले सुर्खेतमा प्रदेशस्तरको कभर्ड हल अपरिहार्य रहेको भन्दै उक्त आवश्यकतालाई ब्याडमिन्टन संघले पूरा गर्न लागेको जनाए।
कभर्ड हल निर्माण भइसकेपछि सुर्खेतबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्याडमिन्टन खेलाडीहरु उत्पादन गर्न सकिने विश्वास गिरीले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।