काठमाडौं– काठमाडौं किंग्स इलेभेन एभरेस्ट प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो खेलमा पराजित भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा काठमाडौं भैरहवा ग्लाडिएटरसँग ७ विकेटले पराजित भएको हो। श्रीलंकन अलराउन्डर फरविज माहारुपको कप्तानीमा रहेको काठमाडौं पहिलो खेलमा ललितपुरसँग हारेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको दोस्रो खेलमा काठमाडौंले दिएको १ सय १९ रनको लक्ष्य भैरहवाले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। भैरहवाको जितमा पुनित बिश्ट्ले नटआउट ४२ रन जोडे। इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्सबाट खेलिसकेका उनले २८ बलमा ६ चौका प्रहार गरे। आरिफ शेखले पनि नटआउट २३ रन बटुले। आरिफले ११ बलमा ३ चौका र १ छक्का हिर्काए।
कप्तान शरद भेषवाकरले ३१ बलमा ३२ रनको योगदान गरे। त्यसअघि प्रदिप ऐरी २ रनमा आउट हुँदा हरिशंकर साहले १४ रन जोडे। बलिङतर्फ काठमाडौंका सुशील कँडेल, सोमपाल कामी र अमरसिंह रउटेलाले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १८ रन जोड्यो। काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले सबैभन्दा बढी २९ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरे।
सागर पुन १५, राजु रिजाल १५ रनमा आउट हुँदा सिद्धान्त लोहनी शून्य रनमा पेभेलियन फर्के। सागर कुमारले २८ रनको बटुलेपछि काठमाडौंले सम्मानजक योगफल जोड्यो। सागरले २५ बलमा २ चौका प्रहार गरे।
बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ विकेट लिए। प्लेयर अफ दि म्याच कप्तान शरदले २ विकेट लिए। आरिफ शेख र पुनित मेहराले १–१ विकेट लिए।
यसअघि दिनको पहिलो खेलमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पार्ने क्रममा पोखरा राइनोजलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।