काठमाडौं- लागुऔषध ओसारपसारमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट स्कोर्पियो गाडीमा लुकाई राखिएको ३५ सय एम्पुलसहित भारतीय नागरिक रमेश कुमारलाई पक्राउ गरेको हो। नेपालमा फर्मास्युटिकल्स लागुऔषधको अवैध बिक्री वितरण एवं ओसारपसार भइरहेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन्।
भारतको मोतिहारी पूर्वचम्पारण निवासी उनी लामो समयदेखि नेपाल-भारत सिमानाबाट लागुऔषध भित्र्याउने र काठमाडौं लगायत मुख्य सहरमा सञ्जालमार्फत कारोबार गर्ने मुख्य व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा खानतलासी गर्दा डाबरको बट्टामा राखेर निकासी गर्न लागिएको करिब डेढ किलो चरेससहित रसियन नागरिकलाई पक्राउ गरेको छ। डाबर च्यवनप्रासको बट्टाभित्र लुकाई निकासी गर्न लागिएको अवस्थामा प्रहरीले रसियन नागरिक भिक्टोरलाई पक्राउ गरेको हो।
पक्राउ गरिएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।