काठमाडौं- सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ।
सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिब २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।
'७ वटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ,' उनले भने, 'प्रदेश प्रमुख नियुक्त हुनासाथ काम गर्नका लागि ती कर्मचारी खटाउन सकिन्छ।'
अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो। पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ। उनका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको हो।
प्रदेश मन्त्रिपरिषद्मा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको छ। मन्त्रालयले कर्मचारीको विवरण तयार पारेर सम्बन्धित केन्द्रीय मन्त्रालयसँग कार्य सञ्चालनबारे विवरण पनि माग गरेको छ।
सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सोही बमोजिम ती कर्मचारीलाई पठाइने प्रवक्ता न्यौपानेले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।