मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जना बाराबाट पक्राउ

नेपाल लाइभ | २०७६ जेठ २८ मंगलबार | Tuesday, June 11, 2019 १०:१२:०० मा प्रकाशित

कलैया- मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ।

नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय गुलशनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन, सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया विन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त गस्ती टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठअगाडि चोकबाट बिआर०५आर ७३३८ नम्बरको एक थान चोरीको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।

पछिल्लो समय बारामा मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी बढेको छ। रासस