ढाका– लगातार दोस्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ।
मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो। पहिलो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६–० ले पराजित भएको थियो।
भारत र बंगलादेश लिग राउन्डमा एक-अर्कासँग भिड्नुअघि नै फाइनल पुगेका छन्।
मंगलबारै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो। भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। समान २ जितका साथ बंगलादेश र भारत अघि बढ्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन्।
लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।