टोकियो- जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ।
जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुन सक्ने ब्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रको आक्रमणबाट जापानलाई जोगाउनेछ।
जापानको मन्त्रिपरिषदले मंगलबार सो निर्णय गरेको हो।
यो निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ। दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकोले यसको प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको सरकारका प्रवक्ताले बताए।
उनले उत्तर कोरियाले यसअघि पनि जापानी भूमिमा यस्तो क्षेप्यास्त्र हानेको र आगामी दिनमा फेरि यस्तो नहोला भन्न सकिने अवस्था नरहेकोले यो प्रणाली जडान गरिएको बताए।
जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया भने आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।