गाईघाट, उदयपुर- तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामा समेत केही दिनयता चिसो र शीतलहर बढेको छ। चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ।
अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन्।
बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए।
यस्तै बिहानभरि पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १० प्रतिशत पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउँछिन्।
विगतका वर्षको तुलनामा यस पटक छिटै चिसो र शीतलहर बढेको हो। गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।