काठमाडौं– धनकुटालाई प्रदेश १ को राजधानी बनाउन माग गर्दै उद्योग मन्त्री सुनिलबहादुर थापा लगायत धनकुटाबाट नवनिर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन्।
आज बिहान केहीबेर माइतीघर मण्डलामा दबाब कार्यक्रमसमेत आयोजना गरी थापासहित सांसदहरु राजेन्द्र राई, निरज राई र इन्द्रमणि पराजुली लगायतको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो।
‘नेपालको संविधान अनुसार हिमाल, पहाड र तराईलाई समावेशी र समानुपातिक हिसाबले विकास र समृद्धि गर्ने भनिएको छ’, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘तर अहिले प्रदेशका राजधानीहरुको नाम तराईका मात्रै सुन्नमा आए।’

क्षेत्रीय प्रशासन कार्यालय धनकुटा नै भएको र भौगौलिक हिसाबले पनि धनकुटा पूर्वको जिल्लाहरुको बीचमा पर्ने तथा सबै जिल्लाका बासिन्दालाई आवतजावत गर्न पनि सहज हुने मन्त्री थापाले बताए।
लोकमार्गले पनि पूर्वका १४ जिल्ला छुने र प्राचीनकालदेखि नै पूर्वको राजधानी धनकुटा भएकाले धनकुटा नै प्रदेश राजधानी हुनुपर्नेमा थापाले जोड दिए।
टोलीमा पूर्वका सांसदहरु मनोहर नारायण श्रेष्ठ, उदय नेपाली श्रेष्ठ, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायत पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।