काठमाडौं– पाकिस्तानी खेलाडी इस्रारुल्लाहले अलराउन्ड प्रदर्शन गरेपछि पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सानदार सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो।
चितवनले दिएको १ सय १४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा कुनै विकेट नगुमाइ पार गर्यो। पोखराको जितमा इस्रारुल्लाहले नटआउट ६१ रन जोडे। इपिएलको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५२ बलमा १ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर सुनील धमलाले नटआउट ४६ रन बटुले। धमलाले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन जोड्यो। खराब सुरुवात गरेको चितवनका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन जोडे। ऐरीले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। ओपनर अनिल मन्डलले ४४ बलमा ३२ रन जोडे। उनले ३ चौका र १ छक्का हिर्काए।
बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार विकेट लिए। ताज अलीले ३ विकेट हात पार्दा विक्रम शोक र शक्ति गौचनले १–१ विकेट आफ्नो नाममा देखाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।