काठमाडौं– गुठी विधेयकको खारेजीको माग गर्दै आन्दोलनमा उत्रेको नेवाःदेय् दबुले थप आन्दोलन गर्ने जनाएको छ।
आइतबार विधेयकको विरोधमा उत्रेका प्रर्दशनकारीलाई सरकारले पक्राउ तथा दमन गरेपछि आक्रोशित नेवाः देय् दबुले आन्दोलन चर्काउने जनाएको छ। आइतबार साँझ मसाल जुल प्रर्दशन गरेका गुठी सम्बद्ध नेवार समुदायले सोमबार साँझ ५ बजे इन्द्रचोकमा विरोध प्रर्दशन गर्ने भएका छन्।
नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकारले खारेज हुनुपर्ने बताए। उनले भने, ‘विधेयक संसोधन होइन। खारेज नै हुनुपर्छ। संसोधन गर्ने भएपछि सरकारले सरोकारवालासँग छलफल गर्न सक्छ।’ विधेयक संविधानको भावना विपरीत आएको उनले दाबी गरे। गुठी सम्बद्ध संस्थाहरुले गुठी विधेयकको प्रस्तावना नै गलत मनशायले आएको बताएका छन्।
बैसाख २६ मा संसदमा दर्ता भएको विधेयक फिर्ता नगरिए गुठीहरु समाप्त हुने संस्कृतिविद्हरुको तर्क छ। शाक्यले भने, ‘धर्म संस्कृति सहित गुठीलाई संरक्षण गर्ने भन्दा पनि जग्गा अतिक्रमण गरेर बसेकालाई जग्गाधनी बनाउनेगरी विधेयक आएको छ।
प्रस्तावित विधेयकमा गुठी संस्थान खारेज गरी अधिकार सम्पन्न गुठी प्राधिकरण बनाउने व्यावस्था राखिएको छ। ‘विधेयक पारित भएपछि गुठियारहरुको सम्पूर्ण अधिकार खोसिने छ।’ शाक्यले भने, ‘विधेयकले अघोषित रुपमा सम्पूर्ण गुठीलाई राष्ट्रियकरण गर्ने काम गरेको छ।’ धर्म कला संस्कृतिलाई समूल नष्ट गर्नेगरी विधेयक ल्याइएको भन्दै शाक्यले आपत्ति जनाए।
प्रस्तावित विधेयक पारित भए कुनै पनि समुदायका परम्परागत जात्राहरु हुन नसक्ने भएकाले गुठी सम्बद्ध सबै संस्थाहरु एकत्रित भई आन्दोलन गर्ने शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।