बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले एकैदिन दुई अवार्ड जितेका छन्। मेसीलाई स्पेनिस खेलकुद पत्रिका मार्काले दुई अवार्ड सोमबार प्रदान गरेको हो।
बार्सिलोनामा आयोजित कार्यक्रममा मार्काले मेसीलाई पिचिची अवार्ड र अलफ्रेड डि स्टेफानो आवार्ड प्रदान गरेको हो। पिचिची अवार्ड एथलेटिक बिल्बाओका स्ट्राइकर राफेल फिचिची मोरेनो अलाजाडीको नाममा स्थापना गरिएको हो। ला लिगा सिजनमा बढी गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ। मेसीले गत सिजन ३४ लिग खेलमा ३७ गोल गरेका थिए।
३० वर्षीय मेसीले प्राप्त गरेको अर्को अवार्ड स्टेफानो ला लिगका उत्कृष्ट खेलाडीलाई प्रदान गरिदै आइएको छ।
बार्सिलोनाका मिडफिल्डर आन्द्रे इनिस्टालाई मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड प्रदान गरिएको छ।
पाँच पटकका बालोन डेर अर विजेता मेसीको टिम बार्सिलोनाले आइतबार राति भएको खेलमा डिपोर्टिभो लाकुरुनालाई ४–० ले हराएको थियो । तर खेलमा मेसीले पेनाल्टी गोल गर्न सकेका थिएनन्।
खेलमा मेसीका अन्य तीन वटा प्रहार पोलमा लाग्नु पनि उनका लागि दुर्भाग्य साबित भएको थियो।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३६ र तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ। एक खेल कम खेलेको रियल ३१ अंक जोडेर चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।