डडेल्धुरा- प्रदेश ७ को राजधानी तोक्ने विषयमा रस्साकसी चलिरहेको छ। यस प्रदेशको राजधानी डडेल्धुरामै बनाइनुपर्ने माग गर्दै आज राजनीतिक दलका प्रमुख एवं विभिन्न संघसंस्था बीच छलफल गरिएको छ।
जिल्लास्थित राजनीतिक दलहरुले आफ्नो अवधारण समेत प्रस्तुत गरेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले प्रदेश ७ को राजधानी जसरी पनि डडेल्धुरामा नै बनाइनुपर्ने बताए।
डडेल्धुरा राजधानी बनाउन नेपाली कांग्रेस जस्तो सुकै पहलकदमी चाल्न तयार रहेको जिल्ला सभापति मल्लको भनाइ छ। पञ्चेश्वर र पश्चिम सेती कार्ययोजनाको अन्तर्राष्ट्रिय दातृनिकायको ध्यानाकर्षण गराई यसलाई सहज र तीव्रगतिमा अगाडि बढाउन डडेल्धुरा उपयुक्त राजधानी हुने उनले बताए।
राजधानी बनाउने विषयमा डडेल्धुरावासीले तर्कका साथ पहल चाल्नुपर्ने नेकपा एमाले डडेल्धुरामा अध्यक्ष डा. ताराप्रसाद जोशी बताउँछन्। अन्य जिल्लाका नेतृत्वकर्ताहरुलाई राजधानी बनाउने विषयमा समझदारीमा ल्याउन जरुरी रहेको उनको भनाइ छ। यसका लागि डडेल्धुरावासीले आफ्ना ठोस आधारहरु तयार पार्नु पहिलो आवश्यकता रहेकोमा पनि उनले जोड दिए।
प्रदेश ७ को राजधानी पहाडी जिल्लामा बनाउन सके हिल सिटीको रुपमा विकास गर्न सकिने र जिल्लाको आर्कषण बढ्ने अध्यक्ष जोशीले बताए।
यसअघि गठन भएको दबाब समूहले पुस ८ गते जिल्लामा आम हड्ताल गर्ने घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।