गौशाला- वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन्।
बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ जनालाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए।
बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए।
उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपूर्जा वितरण गरेको १ नं नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए।
मञ्चका अध्यक्ष सिनमाया गिरीका अनुसार महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन छन्। ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपूर्जा वितरण गरिने उनले वचन दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।