'भारत' करोड क्लबमा, कटरीना कैफका यी फिल्मले गरे करोड बढी व्यापार

नेपाल लाइभ | २०७६ जेठ २७ सोमबार | Monday, June 10, 2019 ०९:४३:०० मा प्रकाशित

एजेन्सी- बलिउडकी चर्चित नायिका कटरिना कैफ अहिले सफलताको उचाइमा छिन्। लगातार हिट फिल्म दिएका कारण उनले आफ्नो फिल्म करियरमा पछाडि पर्केर हेर्नुपरेको छैन।

सुपरस्टार सलमान खानको अपोजिट रहँदै कुमुद रैनाको भूमिकामा फिल्म 'भारत'मा देखिएकी कटरिनाले राम्रै प्रशंसा बटुलिरहेकी छिन्। इदको दिन (बुधबार) रिलिज भएको भारतले अहिलेसम्म १ सय २२ करोडभन्दा बढी रकम कमाइसकेको छ। भारतले पहिलो दिन नै धमाकेदार सुरुवात गर्दै ४२ करोडभन्दा बढी कमाएको थियो।

करोड क्लबमा पर्ने भारत उनको पहिलो फिल्म भने होइन। कटरिना अभिनित कुन-कुन फिल्मले कमाएका छन् त एक सय करोडभन्दा बढी रकम? आउनुहोस् चर्चा गरौं।

ठग्स अफ हिन्दुस्तान
विजय कृष्णा आचार्यको निर्देशन रहेको ठग्स अफ हिन्दुस्तान बक्स अफिसमा फ्लप भएको थियो। अमिताभ बच्चन, आमिर खान र कटरीना कैफजस्ता दिग्गज कलाकार फिल्ममा देखिए पनि यसले उल्लेख्य चर्चा भने पाउन सकेन। यद्यपि यसले कमाइका हिसाबमा भने एक सय करोडभन्दा बढी रकम कमाएको थियो।

टाइगर जिन्दा है
सन् २०१७ मा फिल्म 'एक था टाइगर' को सिक्वेल 'टाइगर जिन्दा है' रिलिज भएको थियो। यस फिल्ममा सलमान खान र कटरिना कैफकै जोडीलाई मुख्य भूमिकामा उतारिएको थियो। फिल्मले बक्स अफिसमा जबरजस्त कमाई गरको थियो। फिल्मले एक सय करोडभन्दा बढी कलेक्सन गरेको थियो।

ब्यांग ब्यांग
निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ब्यांग ब्यांगमा कटरिना ऋतिक रोशनको अपोजिटमा कास्ट भएकी थिइन्। कटरिनाको यस फिल्म पनि करोड क्लबमा परेको थियो।

धुम-३
कटरिनाले यशराज फिल्म्स्‌को ब्केयानरमा बनेको 'धुम-३' मा मुख्य भूमिका निभाइन्। यस फिल्ममा आमिर खान खलनायकको भूमिकामा थिए। बलिउडका फ्यानबीचमा निक्कै चर्चा बटुलेको धुम-३ ले पनि बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेको थियो।

जब तक है जान
यश चोपडाको अन्तिम निर्देशन रहेको फिल्म जब तक है जानमा कटरिनाले शाहरुख खानसँग स्क्रिन सेयर गरेकी थिइन्। त्रिकोणात्मक प्रेमकथामा बनेको यस चलचित्र पनि करोड क्लबमा समावेस हुन सफल भएको थियो।