डडेल्धुरा– नेकपाका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने बताएका छन्।
आइतबार डडेल्धुरा सदरमुकाममा आयोजित डडेल्धुरा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा उनले दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भइसकेकाले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्।
‘हामीले जब दुईटा ठूला पार्टीको बीचमा एकीकरण गरिसकेका छौं,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ।’
उनले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउनको लागि सबैले विधि, पद्धतिमा चल्नुपर्ने बताए।
विधि, पद्धति मिचेर व्यक्तिहरू आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेर अगाडि बढेपछि पार्टीभित्र समस्या उत्पन्न हुने उनको भनाइ थियो।
उनले नेकपाका नेता–कार्यकर्ताले अब एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताए। पार्टीभित्र जहिले पनि सत्य, राष्ट्रहितको पक्षपोषण गर्नुपर्ने उनको तर्क छ।
‘अब हामी सबैले एकजुट भएर अगाडि जानुपर्छ,’ उनले भने, ‘हामीले पार्टीभित्र जहिले पनि सत्यको पक्षपोषण गर्नुपर्दछ।’
उनले नेता कार्यकर्ताको अपेक्षाअनुसार एकता प्रक्रिया तीव्र गतिमा अघि बढ्न नसकेको स्वीकार गरे।
रावलले संगठनात्मक कामलाई तीव्रता साथ अगाडि बढाउन नेता–कार्यकर्तालाई निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।