काठमाडौं– श्रीलंकाली अलराउन्डर फरवेज माहारुफ कप्तान रहेको काठमाडौं किङ्स–११ लाई राष्ट्रिय टोलीका उपकप्तान रहेका ज्ञानेन्द्र मल्लको ललितपुर पेट्रोइट्सले ७ विकेटले पराजित गरेको छ।
कीर्तिपुरको अन्तर्राष्ट्रिय खेल मैदानमा सोमबारदेखि सुरु भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत पहिलो खेलमा ललितपुरले २० बल खेल्न बाँकी रहँदै जित हात पारेको हो।
टस जितेर पहिले बलिङ गर्न उत्रिएको ललितपुरले १८ दशमलव ३ ओभरमा काठमाडौंलाई ८९ रनमा रोकेको थियो। सबै विकेट गुमाएको काठमाडौंका लागि यु–१९ टोलीका अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए। कप्तान माहारुफ ७ रनमा आउट भए। अर्का श्रीलंकन खेलाडी अक्सु फर्नान्डोले पुछारमा १५ र सोमपाल कामीले १४ रन बनाए।
भारतको उत्तर प्रदेश निवासी सुबोथ भाटीले ३ दशमलव ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका थिए। महबुब आलमले २ तथा ललित राजवंशीले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।
प्रत्युत्तरमा ललितपुरले गुजराती ब्याट्सम्यान जयकिशन कोल्सावालाको अविजित ४४ रनको सहयोगमा १६ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै जित सम्भव पार्यो। कप्तान मल्लसँग मिलेर उनले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। मल्ल २० रनमा फर्नान्डोको बलमा एलबिडब्लुको धरापमा परे।
राजवीर सिंह १४ रनमा अविजित रहे। फर्नान्डोले २ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए। उनले ४ रनको स्थितिमै पवन सरार्फको विकेट लिँदै काठमाडौंलाई उत्कृष्ट सुरुवात दिलाउने प्रयास गरेका थिए। तर, जयकिशन र मल्लको जोडीले त्यसलाई असफल तुल्यायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।