नयाँ दिल्ली- भारतमा विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको हो। यी ठाउँमा कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको छ।
मत गणनास्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ। बिजेपीलाई भारतीय राष्ट्रिय कांग्रेसले पछ्याइरहेको। तर गुजरातको यस निर्वाचनलाई कांग्रेसले बिजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ।
गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो।
यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको कांग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वका साथ हेरिएको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये बिजेपीकै अग्रता छ। उसले १०३ स्थानमा अग्रता लिएको छ।
साथै उसलाई टक्कर दिइरहेको कांग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ। हुन त कांग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर कांग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाइ छ।
हालैमात्र भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन्। उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो। कतिपय विश्लेषकहरुले भारतमा कांग्रेसको पुनरागमनको संकेतको रुपमा लिएको प्राप्त समाचारमा जनाइएको छ।
तर यता हिमाञ्चल प्रदेशमा भने कांग्रेसको साख घट्ने देखिएको छ। त्यहाँ बिजेपीको ४४ र कांग्रेसको २० स्थानमा अग्रता छ। यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो।
अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ। यसअघिको परिणामभन्दा कांग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको छ।
तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।