साओपाउलो– ब्राजिलियन मिडफिल्डर काकाले व्यावसायिक फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। काकाले ट्विटरमार्फत संन्यास लिएको घोषणा गरेका हुन्। ३५ वर्षीय काका पछिल्लो समय अमेरिकन क्लब ओलान्डो सिटीमा आवद्ध थिए।
उनी फिफा विश्वकप प्रतियोगिता, युरोपियन च्याम्पियन्स लिग र फिफा बालोन डेअर आवर्ड जित्ने विश्वका ८ खेलाडी मध्ये १ हुन्।
सन् २००१ मा ब्राजिलियन क्लब साओ पाउलोबाट व्यावसायिक करिअर सुरु गरेका काकाले सन् २००३ देखि २००९ सम्म इटालियन क्लब क्लब एसि मिलानबाट खेलेका थिए। २००९ मा स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका काका २०१३ मा फेरि एसि मिलान फर्केका थिए। एक वर्ष मिलानबाट खेलेपछि उनले सन् २०१४ मा ओलान्डोसँग सम्झौता गरेका थिए।
सन् २००२ मा राष्ट्रिय टिममा डेब्यु गरेका काकाले पछिल्लो पटक सन् २०१६ मा राष्ट्रिय टिमको जर्सी लगाएका थिए। ब्राजिलका लागि ९२ अन्तर्राष्ट्रिय क्याप जितेका काकाले २९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिममा रहेका काकाले सन् २००७ एसि मिलानलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले सन् २००७ मा बालोन डेअर जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।