बार्सिलोना– बार्सिलोनाले स्पेनिस ला लिगामा साबिक विजेता रियल म्याड्रिडसँग ११ अंकको अग्रता लिएको छ। आइतबार राति भएको खेलमा डेपोर्टिभो लाकोरुनालाई ४–० गोलले पराजित गरेको बार्सिलोनाले रियलसँग अंक दूरी बढाउँदै लगेको हो।
बार्सिलोनाको जितमा लुइस सुआरेज र पाउलिन्होले २–२ गोल गरे। २९ मिनेटमा लिओनल मेसीको पासमा गोल गरेर सुआरेजले बार्सिलोनालाई अग्रता दिलाए। ४१ मिनेटमा पाउलिन्होले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो। ७५ मिनेटमा जोर्डी अल्भाको पासमा पाउलिन्होले अर्को गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अघि बढेको थियो।
खेलमा मेसीले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्। सुआरेजलाई फल गरेपछि पाएको पेनाल्टीमा मेसीको प्रहार लाकोरुनाका गोलकिपरले विफल पारे। खेलमा मेसीका अन्य तीन वटा प्रहार पोलमा लाग्नु पनि उनका लागि दुर्भाग्य साबित भयो।
जितपछि बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३६ र तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ। एक खेल कम खेलेको रियल ३१ अंक जोडेर चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।