राजविराज- सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका वडा नं ४ को वडा कार्यालयमा आइतबार स्थानीयले तालाबन्दी गरेका छन्।
बाढीपीडितलाई आएको राहत वितरणमा धाँधली गरेको भन्दै वडा अध्यक्षविरुद्ध कार्यालयमा तालाबन्दी गरिएको हो।
गत साउनको बाढीका कारण धनजनको क्षति बेहोरेका पीडितका लागि आएको राहत वितरणमा वडा अध्यक्षले मनपरी गरेको स्थानीयको आरोप छ। वडा कार्यालको सिफारिस अनुसार नगरपालकाले प्रमाणित गरेको नामावली अनुसार मात्रै रेडक्रस कार्यालयले राहत वितरण गर्ने भएपछि वडा अध्यक्ष सत्यनारायण यादवले जथाभावी नाम सिफारिस गरेको स्थानीय कारी यादवले बताए। ‘बाढीपीडितको नामावलीमा कतिपय घरवाट एकै जनाको पनि नाम परेको छैन तर कतिपय घरबाट एकै परिवारका ४ जनासम्मको नाम सिफारिस गरिएको छ,' उनले भने।
नामावलीमै देखिएको समस्याका कारण वास्तविक पीडितले समेत राहत नपाउने भएपछि कार्यालयमै तालाबन्दी गरिएको कपलेश्वर यादव बताउँछन्। स्थानीयवासीले आइतबार नै राजविराज स्थित रेडक्रस सोसाइटीको कार्यालयसमेत घेराउ गरे।
रेडक्रस सोसाइटीका शाखा अधिकृत ब्रह्मदेव यादवले वडा कार्यालय र नगरपालिकाले सिफारिस गरे अनुसार नै राहत वितरण गरिने जानकारी दिँदै सूचीमा छुट भए/नभएको विषयमा जानकारी नभएको बताए। राहत वितरणमा धाँधली भए/नभएको विषय वडा कार्यालय र नगरपालिका कार्यालयबाट मात्रै टुङ्गो लाग्ने भन्दै उनले नामावली सूची अनुसार राहत लिन आउनेलाई कार्यालयले राहत सामग्री दिएर पठाउने बताए।
शाखा अधिकृत यादवका अनुसार हाल सप्तरीमा प्लान नेपाल र डब्लएफपिए (विश्व खाद्य कार्यक्रम) को आर्थिक सहयोगमा बाढीपीडितलाई राहत वितरण भइरहेको छ। प्लान नेपालले २ हजार ९ सय परिवारका लागि प्रतिपरिवार २ थान म्याट, २ थान त्रिपाल, १ थान ब्ल्यांकेट र १ थान डोरी तथा डब्लएफपिएले साबिक गाविसहरु रम्पुरा मलहनियाँ, मैनाकडेरी, लौनियाँ, सकरपुरा, कोईलाडी र तिलाठी गरी करिब ६ हजार ५ सय परिवारका लागि प्रतिपरिवार ५ हजार २ सय नगद उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।