काठमाडौं- लोकगीत-संगीतको उर्वर क्षेत्र धौलागिरीबाट सो क्षेत्रमा योगदान पुर्याउने लोक स्रष्टा सम्मानित हुने भएका छन्। आउँदो असार १४ गते राजधानीमा सांस्कृतिक कार्यक्रमसहित कलाकर्मी सम्मान गरिने धौलागिरी सांस्कृतिक समिति नेपालले जानकारी दिएको छ।
‘श्रष्टा ,सम्मान र समय हाम्रा आधार हुन् भन्ने मूल नाराका साथ धौलागिरी सांस्कृतिक समिति धौलागिरीका श्रष्टा सम्मान गर्न लागेको हो’ कार्यक्रमबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कृष्ण समीप सुवेदीले भने, ‘निरन्तर रुपमा कलाकर्ममा लागेका र यो क्षेत्रमा आफूलाई स्थापित गरेका कलाकारलाई स्वभाविक रुपमा सम्मानका हकदार छन्। त्यसैले यस्तो कार्यक्रम गर्न लागिएको हो।’
हाँस्यव्यङ्ग्य प्रस्तुतिको क्षेत्रमा कहलिएका कलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाको विशेष आतिथ्यतामा हुन लागेको सम्मान कार्यक्रम डेलिस ओपेरा ब्याङ्केट बालुवाटारमा हुने छ। ‘यो कार्यक्रमले गण्डकी सभ्यता बचाउ भन्ने महाअभियानलाई पनि सघाउने छ’ समितिका महासचिव गोविन्द शर्मा पौडेलले भने, ‘संस्कृति, कला र त्यसका आयामहरु क्षेत्र र भूगोल विशेष पनि हुन्छन्। यीनका गुण र चरित्र बचाउने हामी कलाकारको मात्र होइन सबैको दायित्व हो।’
सृजकहरुको सकारात्मक उत्प्रेरणाका लागि समितिले सम्मानका दुई पक्ष तय गरेको छ। एउटा ‘धौलागिरी साधना सम्मान’ र अर्को ‘धौलागिरी युवा सम्मान’। यो वर्षको धौलागिरी साधना सम्मान जनप्रिय गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई दिइने छ भने धौलागिरी युवा सम्मान अहिलेको बहुचर्चित गीत सालको पातको टपरी हुनि बोलका गायक कुलेन्द्र बिश्वकर्मा, सङ्गीतकार वसन्त थापा र गीतकार नवराज पन्तलाई दिइने छ।
‘धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई धौलागिरी राष्ट्रिय सम्मान र धौलागिरी क्षेत्रभित्रै बाट धौलागिरी बिशेश सम्मान भने कार्यक्रमको दिन नै घोषणा तथा बितरण गरिने छ’ समितिका सचिव सुजन बराइलीले भने, ‘भव्य सांस्कृतिक कार्यक्रममा बहुचर्चित कलाकारहरुको सहभागिता हुने भएकाले सम्मान कार्यक्रमा भव्य होला भन्ने आशा गरेका छौं। सर्वसाधारणहरुलाई प्रवेश निशुल्क गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।