काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आइसक्दा एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणासहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रलाई जनताले झन्डै दुई तिहाइको मतसहित अनुमोदन गरिदिए।
चुनाव प्रचारका क्रममा वाम गठबन्धनका प्रमुख नेता र उम्मेदवारहरुले निर्वाचन लगत्तै पार्टी एकता गर्ने वाचा गरेका थिए। कार्यकर्ता र मतदाताले त्यसलाई सहजै स्वीकार गरेको चुनावी नतिजाले देखायो।
चुनावको अन्तिम परिणाम सार्वजनिक भए लगत्तै एमाले र माओवादीले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरे। धेरैको अपेक्षा थियो, गठबन्धनका शीर्ष नेताले औपचारिक पत्रकार सम्मेलनमा पार्टी एकताबारे नयाँ कुरा सार्वजनिक गर्नेछन्। त्यसैले पनि कार्यक्रममा पत्रकारभन्दा पार्टीका नेता र शुभेच्छुक धैरै आए, जसले कार्यक्रमलाई केही अव्यवस्थित समेत बनायो।
कार्यक्रम सुरु गर्दै एमालेका उपाध्यक्ष भीम रावलले वाम गठबन्धनको संयुक्त प्रेस विज्ञप्ति पढेर सुनाए। एमाले र माओवादी अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा गठबन्धनलाई जिताएकोमा आम मतदातालाई धन्यवाद दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको थियो।
विज्ञप्ति पढिसकेपछि ‘फ्लोर ओपन’ भएको घोषणा गरियो र वाम गठबन्धनका नेताद्वय ओली र प्रचण्डलाई प्रश्न सोध्न आग्रह गरियो।
एउटा प्रश्न आयो– 'पार्टी एकता कहिले हुन्छ र एकीकृत पार्टीको अध्यक्ष र अबको प्रधानमन्त्री को बन्छ?'
वाक्पटुतामा चलाख वाम गठबन्धनका दुवै शीर्ष नेताले पार्टी एकीकरणको विषयमा प्रस्ट उत्तर दिएनन्।
एमाले अध्यक्ष ओलीले दुवै जना आ–आफ्ना पार्टीको अध्यक्ष भएकाले नयाँ पार्टीको समेत अध्यक्ष हुनु महत्वपूर्ण नभएको रेडिमेड उत्तर दिए। निकट भविष्यमा पार्टी एकता गर्ने ओलीले बताए। उनको ध्यान नयाँ सरकार गठनमा थियो, वर्तमान सरकार त्यसमा बाधक बनेको ओलीको अभिव्यक्ति थियो।
ओलीले नयाँ सरकार गठन गर्न संवैधानिक र व्यावहारिक रुपमा कुनै अस्पष्टता नभएको दाबी गर्दै अपव्याख्या नगर्न सचेत गराए। वर्तमान सरकारको अभिव्यक्ति, प्रधानमन्त्री शेरबहादुर देउवाको गतिविधि र परामर्शको नाममा देउवाले गरेका अनेक क्रियाकलाप नयाँ सरकार गठनमा बाधक बनेको ओलीले टिप्पणी गरे।
त्यसपछि आफ्नो बोल्ने पालोमा माओवादी केन्द्रका अध्यक्ष दाहालले समेत पार्टी एकताका विषयमा मौनता साँधे। उनले पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री बन्न समेत दुवै जनालाई कुनै लोभ नभएको बताए।
‘ओलीजीले भनेको कुरामा म थप्न चाहन्छु’, दाहालले भने, ‘पार्टी अध्यक्ष मात्र होइन, हामी दुवै जना प्रधानमन्त्री समेत भइसकेका छौं। त्यसमा समेत कुनै लोभ छैन।’
दाहालले अबको मुख्य ध्यान राजनीतिक स्थायित्व, समृद्वि र विकास भएको बताए। पार्टी एकताबारे दाहालले कुनै स्पष्ट कुरा भन्न सकेनन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत पाएपछि वाम गठबन्धनको ध्यान नयाँ सरकार गठनमा केन्द्रित छ। राष्ट्रियसभाको निर्वाचन सम्बन्धी विधेयकको राजनीतिक दाउपेचले नयाँ सरकार गठनमा अवरोध ल्याएको छ।
ताजा जनादेशपछि वाम गठबन्धनका शीर्ष नेता सोही अनुसार नयाँ सरकार गठनमा कस्सिएका छन्। एमाले उपाध्यक्ष भीम रावल नयाँ सरकार गठन र पार्टी एकता एकसाथ अघि बढ्ने बताउँछन्।
‘आवश्यकताका आधारमा कुन पहिला भन्ने कुरा निर्धारण हुन्छ’, रावलले नेपाल लाइभसँग भने, ‘पार्टी एकता हुनेमा कुनै शंका छैन। दुवै काम सँगसँगै अघि बढाउने गरी गृहकार्य भइरहेको छ।’
शनिबार मात्र काठमाडौं क्षेत्र नम्बर ५ को विजय सभामा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्न दुई दलले गरेको प्रस्तावलाई निर्वाचनमार्फत जनताले अनुमोदन गरेको बताएका थिए।
माओवादी केन्द्रीय सचिवालयका एक नेताले चुनावी रणनीतिको रुपमा अघि सारिएको पार्टी एकताको प्रस्तावलाई जनताले अनुमोदन गरेसँगै अब यसको व्यावहारिक पाटो महत्वपूर्ण रहेको बताए।
उनी भन्छन्, ‘चुनावको परिणाम सार्वजनिक भएसँगै दुवै दलका नेतामाथि यसले दबाब परेको छ। पार्टी एकीकरण असम्भव होइन, तर सजिलो पनि छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।