बिबिसी- पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा आइतबार एक चर्चमा आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार अफगानिस्तानको सिमानादेखि करिब ६५ किलोमिटरको दूरीमा आक्रमण भएको हो। बलुचिस्तान राज्यका गृहमन्त्री सरफराज बुगतीले स्थानीय मिडियामा बताए अनुसार मैथोडिस्ट चर्चमा प्रार्थना चलिरहेको समयमा हतियारधारी समूहले आक्रमण गरेका थिए।
गृहमन्त्री बुगतीले ट्विटरमा लेखेका छन्, 'दुई आक्रमणकारीलाई चर्चको मुख्य गेटमै रोकिएको थियो। यदि उनीहरु भित्र पस्न सफल भएको भए मानवीय क्षति धेरै हुनेथ्यो।'
आइतबारको प्रार्थना सभाको क्रममा आक्रमण हुँदा चर्चमा करिब चार सय मानिस थिए।
बलुचिस्तानका प्रहरी महानिरीक्षक जाह अन्सारीका अनुसार कम्तीमा दुई आत्मघाती आक्रमणकारीले चर्चलाई निशाना बनाउने कोसिस गरेका थिए। आक्रमणमा ज्यान गुमाउने र घाइते हुनेहरु चर्चको ढोका नजिकै रहेका मानिसहरु भएको उनले बताए।
प्राप्त खबर अनुसार गोली चलेको आवाजपछि कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको थियो।
पाकिस्तानको उक्त क्षेत्रमा आक्रमणकारीहरुले यसअघि शिया मुस्लिम समुदायलाई निशाना बनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।