रोल्पा- तत्कालीन विद्रोही माओवादीले युद्धको उद्घोष गरिसकेको थियो। कार्यकर्ताहरु रातको मौका छोपेर घरघरमा भित्तेलेखन गर्न आउँथे। सेना-प्रहरीको आँखा छलेर पार्टीका नारा लेख्ने सुरक्षित समय हुन्थ्यो, रात।
माओवादीहरु राति लुकीलुकी नारा लेख्थे। दिउँसो भने गस्तीमा निस्किएको सेना-प्रहरीको निसानामा पर्थे निर्दोष गाउँले। यातना भोग्नै उनै हुन्थे।
यस्तो घटनाले आजित स्थानीयले सेना-प्रहरीको यातनाबाट बच्न माओवादीले लेखेको नारा मेट्ने सल्लाह गरे। सल्लाह बमोजिम घरमा लेखिएका नारा मेटिए। जब यो कुरा माओवादी कार्यकर्ताको कानमा पर्यो, उनीहरुको निसानामा भने गाउँकी एक वृद्ध आमा परिन्। उनलाई निर्घात कुटपिट गरे। उक्त घटनाबाट स्थानीयहरु झनै आक्रोशित बने। दिनहुँजसो रातको समयमा माओवादीले नारा लेख्ने, स्थानीयले बिहान उठेर मेट्ने क्रम चलिइरह्यो।
ज्यादती बढ्दै जाँदा स्थानीयको सल्लाहमा माओवादी प्रतिकार समिति बन्यो। प्रतिकार समितिका सदस्यहरुले राति भित्तेलेखन गर्न आएका ४ माओवादी कार्यकर्ताको हत्या गरे। यो घटनाले माओवादी वृत्तमा हलचल ल्यायो। स्थानीयहरुले माओवादीविरुद्ध प्रतिकार समिति बनाएको घटना देशभर बढ्दै गए पनि हत्या गर्नेसम्मको काम भने रोल्पाको हार्जङमा नै पहिलो बन्यो।
आफ्ना कार्यकर्ता मारिएपछि माओवादी बदलाको लिने समयको प्रतीक्षामा थियो। ४ कार्यकर्ताको हत्याले माओवादीमो ठूलो आक्रोश पैदा गरेको थियो। माओवादीले जुनसुकै बेला पनि गाउँलेमाथि आक्रमण गर्न सक्छ भन्ने हल्ला फैलिएपछि गाउँ त्रासको भुमरीमा पर्यो।
२०५५ फागुन २६ गते गाउँकै एक घरमा जम्मा भएका स्थानीयमाथि माओवादी कार्यकर्ताले आगो लगाए। घरमा आगो लागेको थाहा पाएपछि भित्र रहेका मानिसहरु निस्कन खोजे तर बाहिर हतियारधारी माओवादीको समूह थियो। उनीहरु निस्कन सकेनन्। धुवाँमा निस्साएिका ९ स्थानीय घरभित्रै जलेर मरे। यसरी मृत्यु हुनेमा साबिक हार्जङ गाविस १ का बेकमबहादुर पुन, ३ नम्बर वडाका मनबहादुर गिरि, अमृत गिरि, पुस्ते गिरि, नरबहादुर पुन, ढाँटे पुन, एैभान पुन, गोपाल गिरि र तीर्खराम गिरि थिए। मृत्यु भएका ८ जना सामान्य नागरिक र १ जना प्रतिकार समितिका सदस्य थिए।
घटनाको नेतृत्व गाउँकै माओवादी नेताका बुबा र छोराले गरेको पीडितका परिवार बताउँछन्। शान्ति प्रक्रियापछि पीडितले किस्ता-किस्तामा १० लाख रुपैयाँ त पाए। तर फागुन २६ गतेको दृश्यले मनमा कहिलै शान्ति भएन।
उक्त घटनमा ज्यान गुमाउनेहरु अधिकांश एमालेप्रति आस्थावान् थिए। घटना गराउने भने तत्कालीन माओवादी। पीडित र पीडक अहिले एउटै पार्टीमा जोडिएका छन्। पार्टी नेतृत्वले यस्ता घटनाका गम्भीर समीक्षा गर्नुपर्ने पूर्वएमाले कार्यकर्ताको तर्क छ।
'युद्धका नाममा तत्कालीन माओवादीले हाम्रा कार्यकर्तालाई गरेको हत्या र ज्यादतीको समीक्षा भए मात्रै आत्मैदेखि एकता हुन्छ। अन्यथा इगो राखेर गरिएको एकता सार्थक हुँदैन,' पूर्व एमालेका एक जिल्ला स्तरीय नेताले भने।
हार्जङ घर भएका एमाले कार्यकर्ता मनप्रसाद पुन पनि माओवादीले गाउँमा गएर पीडितपक्षसँग माफी मागेर घटनाको समीक्षा गर्नुपर्ने बताउँछन्। माओवादीका स्थानीय केही नेताको दम्म अझै पनि कम नभएको उनको बुझाइ छ। 'त्यस्ता नेताले फराकिलो ढंगले सोच्नुपर्छ। पार्टी मिलेकोमा हाम्रो आपत्ति होइन। पुराना कुरा बिर्सनुपर्छ तर पूर्वएमाले-माओवादी नेताहरुले वातावरण बनाउनुपर्यो नि।'
सशस्त्र युद्ध सुरु भएको ३ वर्षपछि भएको यस्तो हृदयविदारक र अमानवीय घटनाकोबारे न राज्य बोलेको छ, न तत्कालीन माओवादी। गुडिरहेको बसमा एम्बुस प्रहार गरी सर्वसाधारण यात्रुको हत्या गरिएको चितवनको बाँदरमुडे घटना जस्तै थियो रोल्पाको त्यो घटना। बाँदरमुढे घटनाले विश्वको ध्यानाकर्षण गरे पनि हार्जङले त्यसरी ध्यान खिच्न सकेन। बाँदरमुढे सुगममा थियो। सबैको नजर पुग्ने ठाउँमा भएका कारण चर्चाको शिखमा पुग्यो। सो घटनालाई लिएर माओवादीले माफी मागे पनि हार्जङ भने दुर्गम भएकै कारण न चर्चित भयो न उक्त घटनालाई लिएर तत्कालीन माओवादीका नेताहरुले अहिलेसम्म मुख खोलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।