काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत पुसमा भएको कांग्रेस महासमिति बैठकमा २०७६ फागुन ७ मा १४ औं महाधिवेशन गर्नेगरि तालिका प्रस्तुत गरे। महाधिवेशन पूर्व तयारीका लागि उनले केही आधारसमेत प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको तालिकाको पहिलो नम्बरमा देशव्यापी जागरण अभियान सञ्चालन गर्ने उल्लेख थियो। महासमिति लगत्तै ‘पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित सदस्यता वितरण अभियान’ गर्ने पौडेलको प्रस्ताव थियो।
पौडेलको प्रस्तावले तत्कालीन समयमा कार्यारुप पाएन। उक्त प्रस्तावको चार महिनापछि मात्रै जागरण अभियान सुरु भएको थियो।
पहिलो चरणको एक महिने अभियान शनिबार सकिँदैछ भने दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ सम्म हुनेछ। अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म हुनेछ।
पार्टी सुदृढीकरणका लागि सञ्चालित जागरण अभियानले नेपाली कांग्रेसलाई कति पुर्नजागृत गर्यो? पहिलो चरणको जागरण अभियानलाई कांग्रेसीजनले समीक्षा गर्ने समय आएको छ।
पार्टीभित्र आन्तरिक एकता हुन नसकेको कांग्रेसले जागरण अभियानबाट सोचे मुताबिकको प्रतिफल भने प्राप्त गर्न सकेन। संघीय संरचनाको विधान बनेको पार्टीले सोही अनुसारको संगठन निर्माण गर्न नसक्दा प्रभावकारी हुन नसकेको तथ्य देखाइएको छ।
संगठनको अभाव खड्कियो
संशोधित कांग्रेसको विधानमा आठ तहको संगठन हुने व्यवस्था गरेको छ। केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र बुथ गरी आठ तहको व्यवस्था गरिएको छ।
संशोधित विधानमा संगठनको प्रावधान भएपनि कार्यान्वयन भएको छैन। पार्टीभित्र तदर्थ समिति बनाउने वा महाधिवेशन केन्द्रित भएर नयाँ कार्यसमिति चयन गर्ने विषयमा केन्द्रीय नेताबीच मतान्तर भएकाले संगठन बन्न सकेको छैन। केन्द्रको विवादलाई थाती राखी जागरणमा होमिएको कांग्रेसलाई बिनासंगठन अभियान सफल नहुने चेत पलाएको छ। संगठनको अभावमा जागरण प्रभावकारी हुन नसकेको स्विकार्छन् कांग्रेस नेता डा शेखर कोइराला। जागरण अभियानका लागि केन्द्रबाट काभ्रेमा खटाइएका कोइराला भन्छन्, ‘काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण?’
तल्लो तहमा संगठन परिचालित हुने परिस्थिति नबनेपछि जागरण कार्यक्रमको प्रारुप फितलो भएको नेताहरुको तर्क छ। केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘संगठन भएको भए उनीहरुले नै कार्यक्रम तर्जुमा गर्थे। केन्द्रीय प्रतिनिधि खटिरहने अवस्था हुने थियो। हचुवाको भरमा अभियान सुरु भयो।’
संस्थापन इतर समूहका नेताहरु जागरण अभियान महाधिवेशन पर धकेल्ने पूर्व तयारीका रुपमा ल्याइएको बताउँछन्। नेता पौडेलको प्रश्न छ, ‘पुससम्म जागरण अभियान गरेर फागुनमा महाधिवेशन कसरी सम्भव हुन्छ?’
जागरणका क्रममा संगठन नहुँदा प्रभावकारी नभएको विचारलाई प्रवक्ता विश्वप्रकाश शर्मा भने स्विकार्न तयार छैनन् । ‘संगठन नभएर जागरण अभियान प्रभावकारी भएन भन्नु आधा सत्य मात्रै हो। ७५३ स्थानीय तहमा केही न केही पार्टीको संरचना छ,’ उनले भने।
महाधिवेशन सार्ने ‘प्रपञ्च’
नियमित महाधिवेशनका लागि यसै वर्षको फागुन अन्तिमसम्मको समयावधि रहेको छ। १४औं महाधिवेशन समयमा हुने सम्भवना अब टरेको छ। विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप्न सकिने विधानको व्यवस्था छ।
मूलतः संस्थापन इतर समूहका नेताहरु जागरण अभियान महाधिवेशन पर धकेल्ने पूर्व तयारीका रुपमा ल्याइएको बताउँछन्। समयमा महाधिवेशन नगर्न जागरण बहानाको रुपमा ल्याइएको नेता कोइरालाको आरोप छ। कोइरालाको बोलीलाई युवा केन्द्रीय सदस्य पौडेलले समर्थन जनाए। उनले सभापतिलाई प्रश्न गरे, ‘पुससम्म जागरण अभियान गरेर फागुनमा महाधिवेशन कसरी सम्भव हुन्छ?’
प्रवक्ता शर्मा जागरण अभियान ठिक समयको ठिक निर्णय भएको दाबी गर्छन्। वर्तमान कार्यसमितिको समयावधि थप्न सकिने संकेत पनि उनले गरे। अभियान सुरु नहुँदा जागरण अभियान ल्याउन दबाब बढाउने तर सुरु भएपछि महाधिवेशसन सार्ने प्रपञ्च भन्नुमा अर्थ नभएको शर्माको भनाइ छ। उनले भने, ‘कार्यक्रम नआउँदा किन कार्यक्रम आएन भन्ने। अनि कार्यक्रम आयो, नियतमा प्रश्न उठाउने?’
महाधिवेशनलाई सार्ने नियतले जागरण अभियान सञ्चालन भएको भए त्यसको परिणाम कांग्रेसका लागि घातक हुने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको बुझाइ छ।
‘संस्थापन गुट बलियो बनाउन जागरण’
जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने क्रममा विभेद गरिएको भन्दै केही नेताले आपत्ति जनाएका थिए। १३औं महाधिवेशनमा पराजित भएका केन्द्रीय सदस्यहरु खटाउने क्रममा एकपक्षीय भएको एक नेताले आरोप लगाए। उनले भने, ‘महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा प्रकाशशरण महतले आफूखुसी नेताहरु खटाएका हुन्। आफ्ना खल्तीका नामलाई प्राथमिकता दिए।’ केन्द्रीय सदस्यमा पराजित हुनेमध्येबाट मतान्तर कम भएकालाई केन्द्रीय सदस्यपछिको स्थान दिई खटाउने निर्णयलाई कुल्चेको उनले आरोप लगाए।
केन्द्रीय सदस्यमा पराजित रामहरि खतिवडा, उदय शमशेर राणा, महेन्द्र शर्मा र ध्रुव वाग्ले खटाइएका थिए। खतिवडालाई भोजपुर, राणालाई खोटाङ, यादवलाई सिराहा र वाग्लेलाई जाजरकोटको जिम्मेवारी तोकिएको थियो।
बजेट अधिवेशन जारी रहेकाले सांसदहरुलाई कुनै निश्चित जिल्ला तोकिएको थिएन। सांसदहरुका लागि जिल्ला छनोट नहुने भएसँगै संस्थापन पक्षले आफू निकटकालाई तोकेको भन्दै केही नाममा विमति राखिएको थियो। राजु खनाल, सुरेन्द्र हमाल, गेहेन्द्र गिरि, कृष्ण किशोर, टप्त विष्ट लगायतका प्रतिनिधिको चयनप्रति पार्टीमा असन्तुष्टि थियो।
जागरण अभियानमा एकोहोरो सरकारलाई गाली गर्ने अस्त्र मात्रै बनाइएको भन्दै कतिपयले आलोचना गरेका छन्। पार्टीको नीति, सिद्धान्त, विधान, मार्गचित्रका बारेमा गहन छलफल हुनै नसकेको एक नेताको भनाइ छ।
प्रतिनिधि खटाउने कार्यदेखि नै गुटलाई प्रश्रय दिनुलाई एक नेताले शंकाका रुपमा हेरे। उनले भने, ‘आफ्नो समूहको शक्ति परिक्षण गर्न प्रतिनिधि खटाए। १४औं महाधिवेशनको आन्तरिक तयारीका रुपमा जागरण अभियानलाई प्रयोग गरे।’
सभापति र वरिष्ठ नेताको सहमतिमा नै प्रतिनिधि खटाइएको प्रवक्ता शर्माको प्रस्टीकरण छ। तोकिएको मापदण्डभित्र परेका नेताहरुलाई नै जिल्ला प्रतिनिधिमा खटाएको उनी बताउँन्।
गुटकै कारण सिन्धुपाल्चोकको जागरण अभियान भने सञ्चालन हुन सकेन। जागरण अभियानका लागि खटिएकी केन्द्रीय सदस्य अम्बिका बस्नेत सहभागी भएकै कार्यक्रममा कुटाकुट भएसँगै पहिलो दिनदेखि नै अभियान रोकिएको थियो।
‘आधार तयार गरेन’
विश्लेषक वाग्ले आन्तरिक विवादलाई थाती राखेर जनतामा जानुलाई सकारात्मक रुपमा लिन्छन्। तथापि यथेष्ट नभएको उनको भनाइ छ। सशक्त सन्देशसहित सरकारको भण्डाफोर तथा संगठनमा नयाँ ऊर्जा दिने कार्यमा आशिंक सफलता देखिएको उनको बुझाइ छ।
केन्द्रको आरोप-प्रत्यारोप जिल्ला तहसम्म पुगेकाले जागरण अभियानलाई नकारात्मक असर गरेको उनले बताए।
जागरण अभियानमा एकोहोरो सरकारलाई गाली गर्ने अस्त्र मात्रै बनाइएको भन्दै कतिपयले आलोचना गरेका छन्। पार्टीको नीति, सिद्धान्त, विधान, मार्गचित्रका बारेमा गहन छलफल हुनै नसकेको एक नेताको भनाइ छ। उनले भने, ‘आफ्ना नेताका गल्ती कमजोरीबारे बोल्नै नपाइने निर्देशन थियो। भ्रष्टाचार काण्डका बारेमा कुरै उठेनन्। सरकार तानाशाही भयो भन्दै एकोहोरो रटान लगाए।’
प्रवक्ता शर्मा भन्छन्, ‘डाक्टरले सय चक्की खान सल्लाह दिएको बिरामीले अन्तिम चक्कीले मात्रै रोग निको भयो भन्नु हुँदैन। निको हुनलाई पहिलो चक्कीको पनि भूमिका हुन्छ।’
पहिलो चरणको अभियानले आशातीत सफलता प्राप्त गर्न नसकेकाले दोस्रो र तेस्रो चरणको अभियानलाई आधार नबनेको नेताहरुको बुझाइ छ। जागरण अभियानले कांग्रेस जाग्नै नसक्ने नेता प्रदीप पौडेलको दाबी छ। उनले भने, ‘कांग्रेस जाग्न १४औं महाधिवेशनको तयारी हुनुपर्छ। पहिलो चरणको जागरणले भेटघाट गर्न सहयोग गर्यो। कुन वडामा कुन सक्रिय सदस्य रहेछन् भन्ने जानकारी गरायो।’ संगठनहरु रिक्त रहेकै समयमा जागरण अभियान सञ्चालन हुँदा पार्टीलाई आशातीत लाभ नभएको नेताहरु बताउँछन्।
प्रवक्ता शर्मा भने पहिलो चरणको अभियानले कांग्रेसलाई ऊर्जा थपेको दाबी गर्छन्। उनले भने, ‘तेस्रो चरणले गन्तव्यका लागि गति दिन्छ। दोस्रो चरणले गाडीलाई हाइवेमा ल्याउँछ। पहिलो चरणले गाडी स्टार्ट भइसक्यो।’
पहिलो चरणमा जिल्ला स्तर हुँदै दोस्रो र तेस्रो चरणमा निर्वाचन क्षेत्र र स्थानीय तहमा अभियान सुरु गर्ने कांग्रेसले जनाएको छ। जिल्ला कार्यसमिति परिचालित भएकाले पहिलो चरणलाई केही सहज भए पनि पछिल्ला दुई चरणका लागि संगठन छैनन्। विश्लेषक शर्मा भन्छन्, ‘औपचारिक संयन्त्र नभएको परिवेशमा जागरण अभियान सञ्चालन गर्दा कसरी प्रभावकारी होला?’
निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण अभियान सुरु गर्नुअघि औपचारिक संयन्त्र कांग्रेसका लागि अपरिहार्य बनेको नेताहरु बताउँछन्।
पहिलो चरणको जागरणले पछिल्लो चरणका अभियानलाई आधार तयार गरेको प्रवक्ता शर्माको दाबी छ। उनले उदाहरण प्रस्तुत गर्दै भने, ‘डाक्टरले सय चक्की खान सल्लाह दिएको बिरामीले अन्तिम चक्कीले मात्रै रोग निको भयो भन्नु हुँदैन। निको हुनलाई पहिलो चक्कीको पनि भूमिका हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।