काठमाडौं– वाम गठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका एमाले र माओवादीका दुई अध्यक्षले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री देउवासँग सो आग्रह गरेका हुन्।
दुई अध्यक्षका संयुक्त प्रेस विज्ञप्ति पढेर सुनाउँदै एमाले नेता भीम रावलले वर्तमान सरकारको अभिव्यक्ति र क्रियाकलापले जनमतको अवमूल्यन र अपमान भएको आरोप लगाए।
'निर्वाचन परिणाम प्रकाशित भएपश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र क्रियाकलापहरु नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन्', प्रेस विज्ञप्तिमा भनिएको छ, 'सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सिर्जना हुनाका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ।'
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, 'नयाँ सरकार गठन गर्न संवैधानिक र व्यावहारिक अस्पष्टता छैन, अपव्याख्या गर्न खोजियो। सरकारको अभिव्यक्ति र क्रियाकलाप खेदजनक छ।'
माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूहरुलाई पदको लोभ नभएको तर जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनमा लाग्नु जरुरी भएको बताए।
'हामी दुवै अध्यक्ष छौं, प्रधानमन्त्री पनि भइसकेका छौं', दाहालले भने, 'पदको लोभ हामीलाई छैन।'
चुनाव सम्पन्न गराएर वर्तमान सरकारकाे राम्राे सन्देश गएकाे भन्दै अध्यक्ष दाहालले एक-दुई राजनीतिक नियुक्तिकाे लाेभले गलत सन्देश नजाओस् भन्नेमा सजग हुनुपर्ने सुझाव समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।