काठमाडौं– देशभरका समानुपातिकका मतगणना सकिएको छ। प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ।
समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन्। प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सिट पाउन सदर मतको ३ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ।
एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मात्रै समानुपातिक तर्फबाट सिट पाउने भएका छन्।
एमालेले देशभरबाट कुल ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ। उसले पाएको मत अनुसार समानुपातिक तर्फबाट ४१ सिट पाउने सम्भावना छ। यद्यपि निर्वाचन आयोगले सिट उपलब्ध गराइसकेको छैन। प्रत्यक्षतर्फ उसले ८० सिट जितिसकेको छ।
प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले समानुपातिक तर्फबाट ४० सिट पाउने सम्भावना छ। उसले देशभरबाट समानुपातिकतर्फबाट ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ।

प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले समानुपातिकतर्फबाट १७ सिट पाउने सम्भावना छ। उसले समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालसँग मिलेर एकल चिह्न गोलाकारभित्रको हँसिया-हथौडा चुनाव चिह्नमा समानुपातिकतर्फ चुनाव लडेको थियो। उसले समानुपातिक १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ।
समानुपातिकमा राजपाले ४ लाख ७२ हजार २ सय ५४ मत पाएको छ। समानुपातिकतर्फ उसले ६ सिट पाउने सम्भावना छ। प्रत्यक्षतर्फ उसले ११ सिट जितेको छ।
समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने पाँचौं शक्ति हो, संघीय समाजवादी फोरम। प्रत्यक्षतर्फबाट १० सिट जितेको उसले पनि समानुपातिकतर्फ ६ सिट पाउने सम्भावना छ। त्यसो भएमा उसको कुल १६ सिट पुग्नेछ। समानुपातिक मत अनुसार, एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले राष्ट्रिय दलको मान्यता पाएका छन्।
चर्चामा रहेका विवेकशील साझा र नयाँ शक्तिले समानुपातिक तर्फबाट कुनै सिट नपाउने भएका छन्। विवेकशील साझाले प्रत्यक्षतर्फ कुनै निर्वाचन क्षेत्रमा जित्न सकेको छैन। नयाँ शक्तिले भने १ ठाउँमा चुनाव जितेको छ।
यस्तो हुनेछ प्रतिनिधिसभाको संरचना (प्रत्यक्ष/समानुपातिक)
कुल सांसद (१६५/११०)– २७५
नेकपा एमाले (८०/४१)– १२१
नेपाली कांग्रेस (२३/४०)– ६३
माओवादी केन्द्र (३६/१७)– ५३
राजपा (११/६)– १७
संघीय फोरम (१०/६)– १६
नयाँ शक्ति– १
राष्ट्रिय जनमोर्चा– १
राप्रपा– १
नेपकिपा– १
स्वतन्त्र– १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।