काठमाडौं– सिंहदरबारभित्रको गाडीको टायर कर्मचारीले नै चोरी गरेको खुलेको छ। चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ।
शनिबार चोरी भएका चारै वटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ। सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो।
यो पनि पढ्नुहोस्- सिंहदरबार भित्रै एउटा गाडीका चार वटै टायर चोरी (तस्बिरहरु)
‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले नेपाल लाइभसँग भने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं।’
चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ।
स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन्।
डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ। ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।
सिंहदरबारमा विगतमा पनि पटक-पटक चोरी हुँदै आएको छ। पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।