दमक- नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
आइतबार बिहान झापाको दमकमा पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदै नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गरे।
'राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोज्नु उचित हुँदैन', नेम्वाङले भने, 'जनादेशानुसार बाटो सहज गरिदिनुपर्छ।'
राष्ट्रियसभा विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको बताउँदै नेम्वाङले सो विधेयक निर्वाचनअघि नै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आइसकेपछि ल्याइएकाले यस्तो समस्या देखिएको बताए।
संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको उनको टिप्पणी थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।