राजविराज- सप्तरीको राजविराजमा पुस ७ र ८ गते अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ।
सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थित रुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवर्द्धन गर्न उचित वातावरणको निर्माण गर्न सम्मेलन’ आयोजना गर्न लागिएको बताए।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई प्रभातफेरि गरेर अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम छ। त्यस्तै, सम्मेलनमा स्मारिका र केही पुस्तकको विमोचन गरिनुका साथै नेपाल–भारतका विशिष्ट व्यक्तित्वलाई ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मान अर्पण गरिने मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ।
उद्घाटन सत्र समाप्तिपछि नेपाल–भारतका विशिष्ट कलाकर्मीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने र दोस्रो दिन विचार गोष्ठीको कार्यक्रम राखिएको बताइएको छ।
गोष्ठीमा प्रदेश नम्बर २ मा मैथिलीलाई कामकाजको भाषा बनाइनुपर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानले टिप्पणी प्रस्तुत गर्नेछन्। सोही सत्रमा राजविराज घोषणापत्रसमेत पारित गरिनेछ।
नेपाल–भारतका करिब २ सय प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा दुवै देशका प्रतिष्ठित लेखकहरुका पुस्तकको प्रदर्शनीसमेत राखिने मूल आयोजक समितिका संयोजक झाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।