पाल्पा- पाल्पाका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीको बुटवललाई बनाउनुपर्ने बताएका छन्।
पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राख्दा राजधानीका लागि बुटवल नै उपयुक्त हुनेमा जोड दिएका हुन्।
पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नम्बर प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताए।
'देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ', उनले भने।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताए।
एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।