खोटाङ– दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा आएको छ। ट्र्याक खोलिए पनि सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो।
रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ। सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बाटोको उद्घाटन गरे।
करिब २२ किमी लम्बाइको यो सडक करिब ३० लाख रुपैयाँको लागतमा दिक्तेलको अस्पताल चोकबाट ट्र्याक खोल्न थालिएको थियो।
सडक निर्माणका क्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत एक करोडभन्दा बढी खर्च भएको बताइएको छ। निर्माण कार्य सकिएको लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।