काठमाडौं- तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।
शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको काठमाडौंको तापक्रम शनिबार न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ। चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ।
मौसमविद् मीनकुमार अर्यालले चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको बताए।
'जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ', उनले भने।
केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुहिरो लागेकाले चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने : मौसमविद्
मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। गए राति काठमाडौंको तापक्रम माइनसमा झरेको थियो। शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ।
दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस छ। सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।