भक्तपुर- नायक राजेश हमालले शनिबार बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
नावी नतिजापछि बधाई तथा शुभकामना दिन पुगेका हमाल र अध्यक्ष ओलीबीच केहीबेर देशको अहिलेको अवस्था र अबको यात्राबारे गम्भीर कुराकानी भएको थियो।
वाम गठबन्धनबाट अबको प्रधानमन्त्रीका रुपमा चित्रण गरिएका ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताए।
'जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन्, त्यसलाई म कुशलतापूर्वक निर्वाह गर्नेछु', ओलीले भने, 'देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुनेछैन।'
अध्यक्ष ओलीले चलचित्रका नायकहरुले अभिनयमा मात्र सीमित नभई देश बनाउन पनि भूमिका निर्वाह गर्नुपर्ने बताए।
जवाफमा नायक हमालले देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको बताए। उनले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनुपर्ने भन्दै ओलीलाई शुभकामना दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।