काठमाडौ- इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स युइएफए नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डमाथि नेदरल्यान्डले ३-१ गोलको जित हात पारेको हो।
खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो। ३२ मिनेटमा मार्कोस रास्फोडले गोल गरेर अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। रास्फोडमाथि नेदरल्यान्ड्सका डे लिटले फाल गरेपछि पेनाल्टीको अवसर दिइएको थियो।
खेल सकिन १७ मिनेट बाँकी छदा उनै लिटले बराबरी गोल फर्काउन सफल भए। ७३ मिनेटमा कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो। ९७ मिनेटमा वाल्करले आफ्नै पोस्टमा गोल गर्दा नेदरल्यान्ड्सले अग्रता लियो। थप समय सकिन ६ मिनेट बाँकी छदा प्रोमेसले तेस्रो गोल गरेपछि नेदरल्यान्ड्स जिततर्फ लम्किएको थियो।
अब उपाधिका लागि नेदरल्यान्ड्स र पोर्चुगलबीच आइतबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।