नयाँदिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसको अध्यक्षको कार्यभार राहुल गान्धीले शनिबार ग्रहण गरेका छन्।
गत १९ वर्षदेखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले आफ्ना छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्। राहुल यसअघि सन् २०१३ देखि पार्टीका उपाध्यक्ष थिए।
सोनियाले सक्रिय र पदीय राजनीतिबाट सधैंका लागि बाहिर बस्ने भन्दै शुक्रबार मात्र राजनीतिबाट अवकाशको घोषणा गरेकी थिइन्।
कंग्रेसको अध्यक्ष पदका लागि पाँच दिनअघि भएको निर्वाचनमा राहुलको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित गरिएको थियो ।
राहुलको परिवारमा उनका पूर्वजहरु सबै जना भारतका प्रधानमन्त्री भएका थिए। उनका पिता राजीव गान्धी, राजीवका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरू प्रधानमन्त्री बनेका थिए।
४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरे पनि कतिपयले भने संशय व्यक्त गरेका छन्।
यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो। सोनिया अध्यक्ष भएकै बेला वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कंग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गरेको थियो।
भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छिन्। बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। (रासस/एएफपी/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।