याङ्गुन- म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ।
गएको अगस्ट महिनामा यहाँका रोहिंग्या मुसलमान समुदायविरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा परी ६ हजार ७ सय सर्वसाधारण मारिएको प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो।
म्यानमारमा यहाँको सेनाले रोहिंग्याविरुद्ध गरिएको एक ठूलो ज्यादतीका रुपमा यसलाई लिइएको थियो। म्यान्माली सेनाले यस क्रममा बालबालिकाको पनि हत्या गरेको सो प्रतिवेदनमा सार्वजनिक गरेको छ।
यसअघि संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले भनेजस्तै गरी म्यानमारमा रोहिंग्याका विरुद्धमा जातीय सफाया भएको भन्ने भनाइको यस प्रतिवेदनले पुष्टि गरेको छ। तर म्यानमारले भने यो स्वीकार गरेको छैन।
शुक्रबार म्यानमारको सेनाले उक्त प्रतिवेदनको खण्डन गर्दै त्यस्तो कुनै ज्यादती सेनाको तर्फबाट नभएको र यसका कारण नागरिकमा त्रास फैलाइएको भनाइ सत्य नरहेको बताएको छ।
डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले रोहिंग्या शरणार्थीका बारेमा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। सो प्रतिवेदनमा कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको जनाइएको छ। सो समुदायलाई वास्तवमा यहाँबाट लखेट्न र उनीहरुविरुद्ध जातीय सफाया गर्न यस्तो गरिएको पाइएको सो अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ।
राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा ती मानिस मारिएका थिए। सो प्रतिवेदनअनुसार यसरी मारिनेमा ७ सय ३० जना बालबालिका पनि छन्।
यो ज्यादतीपछि उनीहरुले गत अगस्ट २५ मा देश छोडेका थिए। उनीहरु हाल बंगलादेशको शरणार्थी शिविरमा रहेका छन्। यसरी लखेटिएर ६ लाख २० हजारभन्दा बढी म्यान्माली शरणार्थी बंगलादेश पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।