काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अध्यादेश मार्फत पठाएको विधेयक राष्ट्रपतिले रोक्ने कुनै अधिकार नभएको बताएका छन्।
शनिबार बिहान भेटघाट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष प्रधानमन्त्री देउवाले सरकारले पठाएको राष्ट्रिय सभा गठन सम्बन्धी विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका हुन्।
नयाँ सरकार गठन गर्न राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले आफू सरकार छाड्न आतुर रहेको बताएका थिए। नयाँ जनादेश अनुसार पदमा बस्न आफूलाई कुनै इच्छा नभएको बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि अध्यादेश प्रमाणीकरण भएर राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको नाम टुंगो लगाउन राष्ट्रिय सभाको गठन हुनुपर्ने र त्यसका लागि राष्ट्रपति कार्यालयमा थन्किएको विधेयक प्रमाणीकरण गर्नुपर्ने सरकारले बताउँदै आएको छ।
नयाँ सरकार गठनमा संवैधानिक अड्चन देखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहानै बालुवाटार पुगेका थिए। त्यस क्रममा दाहालले राजनीतिक सहमतिबाटै अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताएको दाहालको निजी सचिवालयले जनाएको छ।
एमालेले भने नयाँ सरकार गठनका लागि राष्ट्रिय सभाको निर्वाचन आवश्यक नरहेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।