काठमाडौं- सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे।
८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ। एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्यारापिट, साधारण प्यारापिटलगायत छन्। भीआईपी प्यारापिट ३० जना तथा साधारण प्यारापिट ५ सय जना अटाउने क्षमताको छ। एकेडेमी निर्माण गर्न करिब ४ वर्ष ६ महिना लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए।
नेपाल सरकार मार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो। अघिल्लो दिन बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र निर्मित कराते एकेडेमीको पनि खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले तेक्वान्दोले गर्व गर्न लायक पूर्वाधार पाएको बताउदै नेपाली खेलकुदले अझै पनि पर्याप्त भौतिक संरचना नपाइरहेको अवस्था रहेको बताए।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं सागमा नेपालले हासिल गरेको उपलब्धीलाई दोहो¥याउन एकेडेमी महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एकेडेमी तेक्वान्दोको गुरुकुलका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्ने योजना रहेको बताए उनले एकेडेमीबाट थुप्रै दीपक विष्ट र संगीना वैद्य जस्ता खेलाडी उत्पादान हुन सकुन् भनी कामना गर्दै एकेडेमी चाँडै नै नेपाल तेक्वान्दो संघलाई हस्तान्तरण गरिने बताए।
तेक्वान्दो संघका सचिव समेत रहेका सागका कीर्तिमानी ४ स्वर्ण विजेता दीपक विष्टले एकेडेमी निर्माण गरिदिएकोमा नेपाल सरकार र राखेपलाई धन्यवाद दिदै नेपाली तेक्वान्दोले रचेको इतिहासलाई नयाँ पीढीले दोहोर्याउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।