काठमाडौं- संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित रूपमा सम्पन्न गराएकोमा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ। मतगणना लगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा समेत अमेरिकाले प्रशंसा गरेको छ।
'स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ,' नेपालस्थित अमेरिकी राजदूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ।
पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउन तथा सुरक्षित र सुव्यवस्थित वातावरण बनाउन लागिपरेका असंख्य सरकारी अधिकारीप्रति पनि सराहना व्यक्त गरिएको छ। निर्वाचन अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ।
नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै पूर्ण रूपमा जवाफदेही बनेर नागरिक कर्तव्यलाई निरन्तरता दिन पनि आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।