काठमाडौं– ब्राजिलयन फरवार्ड नेइमारले २०१९ कोपा अमेरिका फुटबल प्रतियोगिता गुमाउने भएका छन्। घरेलु भूमीमा आयोजना हुन लागेको प्रतियोगितामा नेइमारले खुट्टाको जोर्नीको समस्याका कारण गुमाउन लागेका हुन्।
कतारसँगको मैत्रीपूर्ण खेलमा घाइते भएका कारण नेइमार मैदान बाहिर हुने भएका हुन्। कतारविरुद्धको खेल ब्राजिलले २–० ले जितेको थियो। २७ वर्षीय पिएसजीका स्ट्राइकर नेइमार १७ मिनेटमा घाइते भएका थिए।
यसअघि ब्राजिलले नेइमारलाई राष्ट्रिय फुटबल टिमको कप्तानबाट हटाएको थियो। डिफेन्डर ड्यानी अल्भेसले ब्रजिलको कप्तानको जिम्मेवारी दिइएको थियो।
१४ जुनदेखि ७ जुलाई सम्म हुने कोपा अमेरिका २०१९ फुटबल प्रतियोगिताका लागि ब्राजिलको राष्ट्रिय टिम घोषणा भइसकेको छ।
कोपा अमेरिकामा यसपटक १२ टिमबीच प्रतिस्पर्धा हुँदैछ। एसियाका जापान र कतारलाई आमन्त्रित टिमको रुपमा कोपा अमेरिकामा स्थान दिइएको छ। यी बाहेक १० वटा दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ।
समूह 'ए' मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु छन्। समूह 'बी' मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छन्। यसैगरी समूह 'सी' मा उरुग्वे, इक्वेइडर, जापान र चिली छन्। तीन समूहमा शीर्ष २ र उत्कृष्ट तेस्रो हुने २ टिम क्वार्टरफाइनलमा पुग्नेछन्।
४६ औं संस्करणको कोपा अमेरिकाको उद्घाटन खेल १४ जुनमा आयोजक ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सन् २०१६ मा भएको पछिल्लो संस्करणको विजेता चिली हो। चिलीले फाइनलमा अर्जेन्टिनालाई हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।