सुर्खेत– सुर्खेतमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ। शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएका हुन्।
प्रत्यक्षतर्फ नतिजा शून्य भएको कांग्रेस समानुपातिकतर्फ भने प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो भएको हो। प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नं. १ बाट ३१ हजार ८ सय ८९ र क्षेत्र नं. २ बाट २५ हजार १ सय ६८ गरी जम्मा ५७ हजार १ सय ५७ मत समानुपातिकमा प्राप्त गरेको छ। त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नं. १ को (क) र (ख) बाट ३० हजार ६ सय ६२ तथा क्षेत्र नं. २ को (क) र (ख) बाट २२ हजार ८ सय ३४ गरी ५३ हजार ४ सय ९६ मत प्राप्त गरेको छ।
दोस्रो भएको एमालेले प्रतिनिधिसभातर्फ ५५ हजार २ सय ५४ मत समानुपातिकमा प्राप्त गरेको छ। जसमा क्षेत्र नं. १ बाट २८ हजार ९ सय ६४ र क्षेत्र नं. २ बाट २६ हजार २ सय ९० मत छ। प्रदेशसभातर्फ एमालेले क्षेत्र नं. १ को (क) र (ख) बाट २७ हजार २ सय ३५ र क्षेत्र नं. २ (क) र (ख) बाट २३ हजार ९ सय ४७ गरी ५१ हजार १ सय ८२ मत प्राप्त गरेको हो।
त्यसैगरी, माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १५ हजार १९ र प्रदेशसभातर्फ १६ हजार ६ सय ४६ मत समानुपातिकमा ल्याएको छ। जिल्लामा चौथो बनेको विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ २ हजार १ सय ५१ र प्रदेशसभातर्फ १ हजार ४ सय २८ मत पायो। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १ हजार ८ सय ३७ र प्रदेशसभातर्फ ३ हजार ३ सय २३ मत पाएको छ। यस्तै, प्रतिनिधिसभातर्फ मंगोल नेसनल अर्गनाइजेसनले ९ सय ५६, राष्ट्रिय जनमोर्चाले ६ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ४ सय ४३, संघीय समाजवादी फोरमले ४ सय ७ र नेपाल मजदुर किसान पार्टीले ३ सय ९३ मत प्राप्त गरेका छन्। त्यसबाहेक अन्य दलले ३ सयभन्दा कम मत मात्रै पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।