काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १० र २१ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको हारलाई अकल्पनीय एवं निराशाजनक रहेको निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष कमल थापाले शुक्रबार विज्ञप्ति जारी गर्दैे निर्वाचनमा भोगेको पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिँदै पार्टीको वैचारिक एवं कार्यशैलीमा पुनर्समीक्षा गर्नुपर्ने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ- 'पार्टी कार्यकर्ताहरुको अथक प्रयासका बावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण जिम्मेवारी मेरो हो। अब के गर्ने यसबारे हामी गम्भीरताका साथ विचार गर्ने नै छौं।'
संविधान जारी भएपछि पहिलो पटक भएको आमनिर्वाचनमा पार्टीले ब्यहोरेको पराजयले राप्रपाको औचित्य, आवश्यक र महत्व समाप्त नभएको अध्यक्ष थापाको दाबी छ।
संविधान कार्यान्वयनमा महत्वपूर्ण मानिएको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिँदै राप्रपाले पहिलो पार्टी भएकोमा एमालेलाई समेत बधाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।